काठमाडौं प्लाजा खाली गर्न भोलि माइकिङ गरिने



काठमाडौं ३० चैत, । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न मंगलबार अपराह्न माइकिङ गर्ने भएको छ । वैशाख २ गते भवन पूर्ण रुपमा ट्रष्टले नियन्त्रणमा लिने कार्यकारी सचिव सुरेश आचार्यले जानकारी दिए ।

काठमाडौं प्लाजा सञ्चालन गर्दै आएको कन्सेप्ट डेभलपर्ससँग सम्झौता नवीकरण नगरेको नेपाल ट्रष्टले यो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । तर निर्णय कार्यान्वयन हुन सकेको छैन । काठमाडौं प्लाजा खाली नभएपछि ट्रष्टले अन्तिम पटकका लागि भन्दै ३१ चैतसम्मको समय दिएको थियो ।

त्यसको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलन गरी ट्रष्टका कार्यकारी सचिव आचार्यले भोलि अपरान्ह ४ बजे भवन खाली गर्न माइकिङ गर्ने जानकारी दिए ।
२ गतेबाट भवन ट्रष्टको नियन्त्रणमा लिने र नछाड्नेहरुलाई अनधिकृत कब्जा, करार ऐन मिचेको लगायतका मुद्दामा कारबाही थाल्ने नेपाल ट्रष्टको चेतावनी छ ।
यद्यपि त्यहाँ रहेको ज्योति विकास बैंक, मुक्तिनाथ बैंकको कार्यालय र नेपाल टेलिकमको टावर भने तत्काल हटाइनेछैन ।

आचार्यका अनुसार काठमाडौं प्लाजाको भाडाको ६ करोड ५ लाख रुपैयाँ वक्यौता कसले तिर्ने भन्ने टुंगो भएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्