एमआरआइ मेसिनभित्र हालेर डाक्टरले बिर्सिएपछि



काठमाडौं। बिरामीको उपचार गर्ने डाक्टर निकै सचेत हुनुपर्छ । उपचारको क्रममा, खासगरी अपरेशनको क्रममा डाक्टरको सानो गल्तीले पनि बिरामीको ज्यान जान सक्छ । तर, हरियाणाको पंचकुल सेक्टर ६ को जनरल अस्पतालमा संचालित एमआरआइ र सिटी स्क्यान सेन्टरमा निकै डरलाग्दो घटना भएको छ।

२२ सेप्टेम्बरका दिन साँझ ५९ वर्षका वृद्ध राम मेहर उपचारका लागि गएका थिए । डाक्टरले उपचारको क्रममा उनको स्क्यानको लागि उनलाई एमआरआइ मेसिनभित्र हाले । तर, डाक्टरले उनलाई बाहिर निकाल्न भने बिर्सिए । पंचकुला पुलिसलाई दिएको उजुरीमा वृद्धले भनेका छन् कि बाहिर निस्किनको लागि उनले निकै प्रयास गरे तर बेल्टले बाँधिएका कारण निस्किन सकेनन् ।

जब मेसिनभित्र सास फेर्न पनि गाह्रो हुन थाल्यो र राम मेहरलाई लाग्यो कि अब बाहिर ननिस्किने हो भने सास फेर्न नपाएर उनको मृत्यु हुन्छ, त्यपछि उनले अन्तिम पटक जोड लगाए । यतिबेला भने कुनै तरिकाले बेल्ट खुल्यो । पीडितले स्वास्थ्यकर्मीको गम्भीर लापरवाहीको उजुरी हरियाणाका स्वास्थ्य मन्त्री अनिल विज, डिजी हेल्थ डा. सुरजभान कंबोज र सेक्टर ५ पुलिसमा दिएका छन् ।

राम मेहरले अझै ३० सेकेण्ड बाहिर निस्किन नसकेको भए आफ्नो मृत्यु निश्चित भएको उजुरीमा उल्लेख गरेका छन् । अस्पताल प्रबन्धनले भने अस्पतालका प्राविधिकले नै राम मेहरलाई बाहिर निकालेको दावी गर्दै सीसीटिभी फुटेज जाँच गराइरहेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्