आधुनिक बन्दै भिखारीहरु, दान लिनका लागि डिजिटल भुक्तानी

एजेन्सीको सहयोगमा


एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् ।

तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।

चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । मानिसहरु नगद सित्तिमित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्‍यो ।

दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।

फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठाउँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मानिसहरु समेत आउँदछन्, जसले भिखारीहरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।

चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारीहरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखारीहरुसँग सहकार्य गरेको बताइएको छ ।

भिखारीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवरणसमेत कम्पनीहरुले प्राप्त गर्दछन् । ती कम्पनीहरुले त्यस्ता डाटालाई विज्ञापनलगायतका लागि प्रयोग गर्ने गर्दछन् ।

स्मरण रहोस् यो वर्षको सुरुमै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो । चीन सरकारका अनुसार सन् १९७० को दशकयता चीनमा ७७ करोड मानिसले गरिबीबाट मुक्ति पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्