२ नम्बर प्रदेशमा माधव पक्षले चुन्यो संसदीय दलको नेता



प्रदेश–२ को एमाले संसदीय दलमा माधव नेपाल पक्ष हाबी भएको छ । नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पक्षका सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएको छ । मण्डललाई हटाएर नेपाल पक्षीय शत्रुधन महतो संसदीय दलको नेता बनेका छन् । प्रदेश २ मा एमालेका २१ सांसद छन् । २१ मध्ये १३ जना सांसदको समर्थनबाट आफू संसदीय दलको नेता बनेको महतोले बताए ।

‘हामीले वैशाख २९ गते संसदीय दलको नेता चयन भएको पत्र सभामुखलाई बुझाएका थियौं । बहुमत सदस्यले साथ दिएकाले म संसदीय दलको नेता बनेको हो, महतोले भने,‘सोमबारको प्रदेश सभा बैठकमा संसदीय दलको नेताको हैसियतले मैले बोलिसकेको छु, सभामुखले मलाई मान्यता दिइसक्नुभएको छ ।’

बहुमत सांसदबाट हटाइएका मण्डलले अवैधानिक र अलोकतान्त्रिक तरिकाले हटाइएको जानकारी आफूले पार्टी नेतृत्वलाई गराएको बताए । ‘अविश्वासको प्रस्ताव नल्याइकनै मलाई हटाइएको छ । यो कुनै पनि हालतमा मान्य हुन सक्दैन । पार्टीको अनुशासनविपरीत काम भएको छ,’ उनले भने,‘मैले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष, संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपप्रधानमन्त्री एवम् पार्टी महासचिव ईश्वर पोखरेललाई जानकारी गराएको छु । अराजक गतिविधी गर्नेहरूमाथि पार्टीले कारबाही गर्नुपर्छ । संसद सचिवालयका कर्मचारी र सभामुखले समेत गलत तरिकाले भएको निर्णयलाई मान्यता दिएको उनले बताए । आफूलाई हटाउन माधव नेपाल प्रदेश–२ मा आएर शक्ति र पैसाको खेल गरेको समेत आरोप लगाए ।

‘गलत तरिकाले संसदीय दलका नेता छानिएका महतोलाई सभामुखले संसदमा बोल्न दिएका छन् । महतोलाई कुर्सी समेत छुट्टाइएपछि म एकछिन बसेर बाहिरिएँ, उनले भने,‘मुख्यमन्त्रीले समेत बधाइ दिनुभयो । मलाई हटाउन देशी विदेशी शक्तिहरूले लामो समयदेखि चलखेल गरेका थिए ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्