आमाको हेरचाह नगरेको आरोपमा पक्राउ परेकी राष्ट्र बैंककी निर्देशक थुनामा



नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

उनकी आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा प्रहरीले उनलाई चैत २२ गते पक्राउ गरेको हो।

छोरीले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर आफूलाई उचित हेरचाह नगरेको दाबी शोभाले गरेकी छन्।

डेढ वर्षअघि आफ्ना पति मरेपछि शोभा छोरीसँगै बस्ने गरेकी थिइन्। आफ्ना पति र आफ्नो संयुक्त खातामा सुनचाँदीसहित तीन करोड रुपैयाँ र वित्तीय संस्थाका सेयरहरू झुक्याएर आफ्नो नाममा पारेको भन्दै शोभाले उजुरी गरेको प्रहरीले जनाएको छ।

ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुर गरेकाले आफ्नी छोरीलाई कारबाही गर्न शोभाले माग गरेकी छन्। नौ महिनाअघि उनको उजुरी प्रहरीमा परेपछि छोरी सुष्माले अदालतबाट आफूमाथि कारबाही नगर्न ‘स्टेअर्डर’ लिएर आएकी थिइन्।

पछि त्यो अर्डर खारेज गरेपछि आमाले जाहेरी दिएकी हुन्।

वृद्ध-वृद्धाले आफ्नो सम्पत्ति खोस्ने र हेरचाह नगर्ने आफन्तविरूद्ध दिएको सम्भवत यो पहिलो जाहेरी हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्