दोलखामा जिप दुर्घटना : ४ जनाको मृत्यु



काठमाडौं। दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए। उनीहरू सबै सिँगटी गाउँका हुन्।

घाइतेमध्ये १० जनालाई सोमबार राति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ। अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ। दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्