सैघाली खबर
काठमाण्डौ, ८ माघ । नेकपा एमालेको ६ नं प्रदेशको संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीको हुनुपर्ने अडान राखेको छ। सोमबार बसेको संसदीय दलको पहिलो बैठकले एमालेको एकल बहुमत रहेका कारण ६ नम्बर प्रदेशको नेतृत्व पाउनुपर्ने दावी गरेको हो।
‘प्रदेश नं ६ को प्रदेशसभा संसदमा एमालेको ५० प्रतिशत अर्थात २० जना सदस्य रहेकाले एकल सरकार बनाउन र सञ्चालन गर्न सक्ने दलको हैसियत कायम भएको छ’, एमाले ६ नम्बर प्रदेश कमिटीका सह–संयोजक यामलाल कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘एमालेका शतप्रतिशत उम्मेदवारहरु विजयी गराउन सफल भएकाले प्रदेश सरकारको नेतृत्व दाबी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षणसमेत गराउने निर्णय गरियो।’
यस्तै, बैठकले प्रदेशको अस्थायी राजधानीसमेत रहेको सुर्खेत काठमाडौंसंग सिधै हवाई यातायातमा नजोडिएको भन्दै वायु सेवा निगम र निजी विमान कम्पनीलाई हवाई सेवा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट प्रकाश ज्वाला र यमलाल कँडेल आकांक्षी रहेका छन्। यस्तै, पूर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले पनि प्रदेशको मुख्यमन्त्रीमा दावेदारी पेस गरिरहेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।