राजतन्त्र पुनर्स्थापना गर्न देशी विदेशी शक्तिहरुले चलखेल : चित्रबहादुर केसी



काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा राजतन्त्र पुनर्स्थापना गर्न देशी विदेशी शक्तिहरुले चलखेल गरिरहेको बताएका छन्। बुधबार अखिल (छैठौं) ले काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै राजमो अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरे ।

नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको उनको भनाई थियो। केसीले ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि भन्दै यसलाई संस्थागत गर्न चुनौति रहेको बताए। अखिल (छैठौं) का पूर्व अध्यक्ष एवम् उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको बताए। मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरु कायमै रहेको बताए। त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए।

यस्तै, अखिल (छैठौं) का अर्का पूर्व अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए। अहिले समावजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताए। संसद विघटन देखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताए ।

अखिल (छैठौं) का अर्का पूर्वअध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले अझैपनि क्रान्ति सफल नभएको बताए। क्रान्ति पुरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताए। पूर्व अध्यक्ष एवम् राजमो नेता कृष्ण अधिकारीले हिजोका दिनमा विद्यालय, कलेजहरु राजनीतिक चिन्तन गर्ने र देशको भविष्यबारे छलफल गर्ने केन्द्र हुन्थे भन्दै आज स्कुल, क्याम्पसमा छिर्दा चिन्ताजनक अवस्था देखिने गरेको बताए।

कार्यक्रममा अखिल (छैठौं) ले आफ्ना पूर्वअध्यक्षहरु लीलामणि पोखरेल, देव गुरुङ, विनबहादुर कुँवर, टोपबहादुर रायमाझी, परी थापा, हिमलाल पुरी, कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना र अनिलकिशोर घिमिरेलाई सम्मान गरेको थियो। कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलद्वारा लिखित ‘नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं) को इतिहास’ नामको पुस्तक पनि विमोचन गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्