Banner First

मलेसियामा कामदारको अभाव

By Thah Online

April 14, 2021

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण विदेशी कामदार आउन छोडेपछि मलेसियाका रोजगारदाताहरुले विदेशी श्रमिक लिन सहज बनाइदिन सरकारको ध्यानाकर्षण गराएका छन् । फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चरर (एफएमएम) ले कामदारको कमीले व्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै सकेसम्म छिटो विदेशी कामदार आउने व्यवस्थामा सहजिकरण गरिदिन आग्रह गरेको छ ।

मलेसियामा एफएमएम धेरै रोजगारदाता संलग्नहरुको संस्था मानिन्छ । उक्त संस्थाका अध्यक्ष सोह थियान लीले औद्योगिक क्षेत्रलाई विदेशी कामदार आवश्यक रहेका कारण छुट्टीमा घर फर्किएका कामदारलाई मलेसिया फर्किन सहज गरिदिन माग गरेका छन् ।

मलेसियामा विभिन्न १५ देशका १७ लाख बढी विदेशी कामदार रहेका छन् । त्यसमा नेपाली कामदारको संख्या तीन लाख पचास हजार भन्दा केही बढी रहेको छ । कोभिड–१९ का कारण मलेसियाले नयाँ कामदारका एप्रुभल दिएको छैन ।

अध्यक्ष लीले मलेसियामा विदेशी कामदारले कम तलबमा तल्ला पदमा काम गर्ने गरेको र स्थानीयले तल्ला र कम पारिश्रमिक पाउने काममा रुची नराख्ने भन्दै व्यवसाय चलाउन मानवीय जनशक्ति अपरिहार्य रहेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।