पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी



काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ। लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए। उनका अनुसार कांग्रेसँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ। स्रोतका अनुसार कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको छ।

लुम्बिनी प्रदेशमा माओवादीको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी भएको छ।लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन्।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। राष्ट्रिय जनमोर्चाले यसअघि गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भए मुख्यमन्त्रीको विरुद्धमा मतदान गर्ने बताइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्