अधिकृत सहित जीप दुर्घटनामा ज्यान गुमाउने गुल्मीका राष्ट्रसेवक कर्मचारीहरु यी नै हुन्



बैशाख २, काठमाडौं।  नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पूजा अर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडे । तर, उनीहरू स्वर्गद्वारी पुग्न पाएनन् । उनीहरू सवार लु.१ज १६५५ नम्बरको जिप बुधबार बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दुर्घटना भयो । दुर्घटनामा पाँचको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुने सूर्यप्रसाद पन्थी र गम्भीर घाइते कमला ज्ञवाली दिदीभाइ हुन् । कमलाले भाइ गुमाइन्, आफू र छोरा सार्थक ज्ञवाली गम्भीर घाइतेछन् । अहिले सूर्य र कमलाको परिवार शोकमा डुबेको छ । दुर्घटनामा प्रशासन कार्यालयका सुनिता कँडेल, तारा भण्डारी, दिलबहादुर थापा, गीता बोहोरा मुखिया र छोरा अनिश मुखिया घाइते भएका छन् ।

जिपमै सवार वसन्ती पौडेल र उनका चार वर्षीया छोरी निकिता पौडेल, ६ वर्षीय आशिष भण्डारी पनि घाइते भएका छन् । प्युठान दुर्घटनामा गम्भीर घाइते कमला ज्ञवाली र छोरा सार्थक ज्ञवाली, गीता मुखिया र छोरा अनिश मुखिया, सन्दीप परियार र मुना पाण्डेलाई थप उपचारका लागि नेपाली से’नाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

जिप दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीले ज्यान गुमाए । न्यौपाने स्याङ्जाबाट गुल्मी मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन आएका थिए ।

बाँकी पाँच घाइतेको प्युठानकै बिजुवार र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति छ । मृतक श्याम न्यौपाने प्रशासकीय अधिकृत हुन् । उनले प्रशासनको नागरिकता फाँटको महत्वपूर्ण काम गरिरहेका थिए । सूर्य पन्थी पनि नागरिकता शाखाकै कम्प्युटर अपरेटर हुन् । उनले नागरिकतासम्बन्धी विवरण संकलन तथा प्रिन्ट गर्ने काम गर्थे । यमलाल पन्थीले नागरिकताकै प्रतिलिपि शाखामा काम गर्दै आएका थिए ।

ईश्वरी भण्डारीले मुद्दा शाखामा काम गरिरहेका थिए । अन्य शाखाका कर्मचारी र कार्यालय सहयोगीसमेत घाइते भएका छन् । जसका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रशासनका महत्वपूर्ण फाँटकै कर्मचारीहरूको दुर्घटनाले स्तब्ध बनायो उनले भनिन् शोकलाई शक्तिमा बदलेर सेवा प्रवाह व्यवस्थापन गर्छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्