नेपालगञ्जमा शैक्षिक संस्था एक साता बन्द



कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।

नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ ।

मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्