राजनिती

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

By Thah Online

April 15, 2021

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। जसपाका कति माग पूरा भए भन्नेबारे समीक्षा भएको भेटवार्तामा सहभागी लक्ष्मणलाल कर्णले बताएका छन्। ‘सरकारबारे केही कुरा भएन, हाम्रो माग पूरा गर्ने प्रक्रियाबारे समीक्षा गर्‍यौं,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले काम गरिरहेको छु भन्नुभयो।’

आज साँझ कार्यदलको बैठक बस्ने उनले जानकारी दिए। जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ। यी सबै विषयमा खुला-खुलस्त कुराकानी भए पनि कुनै विषयको निचोडमा पुगिनसकिएको उनले बताए। उनका अनुसार आजै कार्यदलको पनि बैठक बस्नेछ।

प्रधानमन्त्री ओलीलाई सघाउने कि उनको विकल्प खोज्ने भन्नेमा जसपामा दुई धार छन्। नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई तत्कालै हटाइहाल्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारप्रति नरम छन्।

यसअघि नेताद्वय भट्टराई र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ। त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ।

दिउँसोको अनौपचारिक छलफलमा पनि कार्यदलका सदस्यहरू थिए। कार्यदलमा सरकारका तर्फबाट दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल राजन भट्टराई छन्। जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र कर्ण रहेका छन्।