केहीले जनताको अधिकार खोस्ने सपना देखिरहेका छन् : प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वयं सरकारको नेतृत्व राष्ट्रिय हित विरुद्ध लागेको बताएका छन्। बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै यस्तो बताएका हुन्।

उनले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस भएको बताए। प्रचण्डले भने, ‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ। देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। यो नेपाली जनतालाई यो स्वीकार्य छैन।’

बिहीबारदेखि नेपालका प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्त गोयलबीच भएको भनिएको सम्झौताको विषय चर्चित भएको छ। यसको पक्ष विपक्षमा बहस जारी छ। प्रधानमन्त्री ओलीतर्फ गर्दै प्रचण्डले तानाशाही एक चोटि परास्त भए पनि पुरै परास्त अझै नभएको बताएका छन्। अझै षड्यन्त्र चलिरहेको उनले उल्लेख गरेका छन्।

उनले भने, ‘जनताले लोकतन्त्र विरोधी गणतन्त्र विरोधी कदम स्वीकार गरेनन्। सबै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए। अन्ततः अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गर्‍यो।’ प्रगति विरोधी तथा राष्ट्र विरोधी तत्त्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको उनले बताए। त्यो नेपालमा मात्रै नभई विश्वमै रहेको उनको भनाइ छ।

उनको भनाइ छ, ‘अहिले पनि नेपालमा केहीले इतिहासलाई पछाडि धकेल्ने कोसिस गरेका छन्। केही मानिसले त्यस्तो सपना देख्छन्। उनीहरू संघीयता खारेज गर्ने र स्थानीय तहको अधिकार केन्द्रमा ल्याएर निश्चित व्यक्तिलाई पोस्ने योजनामा छन्।’ यसलाई परास्त गर्न सबै क्षेत्रबाट लागिपर्नुपर्ने उनको भनाइ थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्