साउदी प्रवेश गर्न आएका ६७ भारतीय विमानस्थलबाट किन फर्काइए?



काठमाडाैं । कोभिड–१९ को दोस्रो लहरको असर देखिन थालेपछि सरकारले सुरक्षित रहन भन्दै धेरै मानिस जम्मा नहुन सार्वजनिक अपिल गरेको छ । तर, जोखिम बढाउने गरी भारतीय राजदूतावासअगाडि सयौँ भारतीय नागरिकहरू जम्मा भइरहेका छन् ।

खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले भारतीयहरूलाई नेपालको बाटो साउदीतर्फ जानका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेसँगै भारतीयहरू मंगलबारदेखि दूतावासअगाडि लाइन लागेका छन् । मंगलबार सयौँको संख्यामा भारतीयहरू अव्यवस्थित तरिकाले लाइन लाग्दा भिड थेग्न नसकेपछि प्रहरीले हस्तक्षेपसमेत गर्नुपरेको थियो ।

विमानस्थलबाट ‘नो अब्जेक्सन लेटर’ नभएको भन्दै आइतबार साउदी उड्न लागेका ६७ भारतीयहरूलाई फर्काइएको थियो । जजिरा एयरवेजमार्फत जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएको थियो । खाडी मुलुक उड्न आउने भारतीयहरूको संख्या बढेपछि एयरलाइन्सहरूलाई भ्याइ–नभ्याई भएको छ । कोभिड–१९ पछि भारत र नेपालले दैनिक एक–एक उडान गर्न पाउने सहमति छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन् । साउदीले नेपालमा भने सीधा उडानमा रोक लगाएको छैन ।

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । साउदी अरबका होटेललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्ने गरेको अनुमान छ । भारतीयहरू नेपाल आएर १४ दिन क्वारेन्टिन बसेर मात्रै साउदी अरबको यात्रामा निस्कने गरेका छन् । जसका कारण नेपालमा बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ हुन थालेका छन् ।

नेपाल र भारत सरकारबीच सम्पन्न भएको एयर बबल एग्रिमेन्टअनुसार दुवै देशबाट एक–एकवटा उडान गर्न पाउँछन् । कुनै पनि देशले आफूले चाहँदैमा उडान संख्या थप गर्न सक्दैनन् ।

दुवैतर्फको उडानमा चाप देखेर नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोरबाट पनि उडान गर्न माग गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल वायुसेवा निगम, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्