प्रदेश समाचार

कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने

By Thah Online

April 16, 2021

काठमाडाैं । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ। प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताएका हुन्।

‘हामी तटस्थ बस्ने कि भन्ने पनि थियो। अलि अघिसम्म अलमलमा थियौँ, तर अब कमजोरलाई मत दिने निर्णय गरेका छौं,’ उनले भने। कन्यादान, रक्तदान र मतदानमा पैसा खान नमिल्ने बताउँदै शाहीले आफूहरूले कमजोर शक्तिका पछि लाग्ने उनले जानकारी दिए।

माओवादी केन्द्र र कांग्रेसका सांसद जोड्दा पनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँदैनन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मीले दल त्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा ३९ सदस्यीय छ। मुख्यमन्त्रीले विश्वासको मत पाउन २० जना सांसद उनको पक्षमा हुनुपर्छ। माओवादी केन्द्रका १२, कांग्रेसका छ जना जोड्दा १८ जना पुग्छ।

प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २० जना सांसद छन्। मुख्यमन्त्री शाहीको पक्षमा एमालेका केही सांसदहरु फ्लोर क्रस गरेर समर्थन गर्ने संभावना रहेको अनुमान छ। कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन्। उनीविरुद्ध एमालेले अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ।