प्रदेश समाचार

विश्वासको मत लिनेक्रममा मुख्यमन्त्री शाहीले गरे यस्तो आग्रह

By Thah Online

April 16, 2021

काठमाडौं। कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका कामको बारे बताउँदै मुख्यमन्त्री शाहीले आफू प्रदेशको पहिलो मुख्यमन्त्री भई काम गर्न पाएकोमा गर्व लागेको बताए।

उनले भने, ‘एक पटक फेरि सरकारलाई विश्वासको मत दिनुस्, सबै विषय छलफल गरेर सहमतिमा अघि बढ्छौं।’ नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाको विश्वास छ भनी विश्वास लिनको लागि वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्न मुख्यमन्त्री शाहीलाई सभामुखले अनुमति दिएका थिए।

अहिले शाहीले राखेको प्रस्तावमाथि प्रदेश सभा बैठकमा विभिन्न दलका सांसदले छलफलमा भाग लिएर धारणा राखिरहेका छन्। ‘कर्णालीका साझा मुद्दा छन्। सबै मिलेर छलफल गरौँला,’ उनले भने, ‘सबै माननीय सदस्यहरूले मलाई एक पटक मतदान गर्नु हुनेछ भन्ने विश्वास छ।’

उनले आफ्नो वक्तव्य प्रस्तुत गर्नेक्रममा कर्णालीको समृद्धि र विकासका लागि एक पटक फेरि साझा प्रतिबद्धता गर्नु जरुरी रहेको औँल्याए। ‘हामीले एकताको सन्देश देशलाई दिनका लागि पनि अविश्वासको प्रस्तावलाई विश्वासको मतका रूपमा परिणत गर्नुहुने छ भन्ने मलाई अपेक्षा छ,’ शाहीले भने।

उनले कर्णालीको प्रदेशको निर्माण गर्दा तीव्र विकास र आर्थिक समृद्धि देखेको बताए। ‘कसैलाई विपक्ष नराख्ने यहाँको प्रतिपक्ष भनेको कर्णालीको गरिबी हो, रोग हो, भोक हो भनेका थियौं,’ उनले भने ‘हाम्रो सबैको चाहना सबैका चाहना तीव्र आर्थिक विकास गर्नका लागि सबै एकै ठाउँमा उपस्थित भएका छौं।’