दलको अस्तित्व फरक भएकाले समर्थन फिर्ता लियौं : यमलाल कँडेल



काठमाडौं। कर्णाली प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीका सांसदहरुको चरित्र हत्या नगर्न आग्रह गरेका छन्। आजको प्रदेश सभा बैठकमा नेता कँडेलले माओवादी केन्द्रलाई छिमेकीको घरको चिन्ता नगर्न आग्रह गरेका हुन्।

कँडेलले पार्टीमा समस्या भएपनि संसदीय दलमा नरहेको दाबी पनि गरे। उनले हरेक प्रदेशमा एमालेको संसदीय दल एकताबद्ध रहेको बताए। उनले आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरे। उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको ‘दिलचश्पी’ देखिराख्छु। यसले घर पनि बिग्रन्छ, सम्बन्ध पनि बिग्रन्छ।’

अहिले एमाले हुँदा हिजो नेकपा हुँदाको चलखेल गर्न खोजेको उनको आरोप छ। ‘फ्लो क्रस’ हुने बजार हल्लाका लागि केही सक्रिय भइरहेको उनले आरोप लगाए। ‘नेकपा एमालेप्रति आँच पुर्‍याउने गरी, चरित्रहत्या गर्नेगरी जुन काम भइरहेको छ, त्यो निन्दनीय छ। त्यसले दलीय संस्कार राम्रो गर्दैन। दलीय सीमालाई मिचेर पार्टीका माननीयप्रति प्रतिष्ठामा आँच आउने काम भइरहेको छ, त्यसो नगरौं,’ उनले भने।

दलको अस्तित्व फरक भएका कारणले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको कँडेलले बताए। यसअघि एकसाथ रहे पनि अहिले एमाले र माओवादी केन्द्र भइसकेको विषय स्वीकार्नुको विकल्प नरहेको उनले बताए। ‘न नेकपा बनाउँदा आमजनताबाट अनुमोदित भयो, न अहिले। यसलाई बेहोर्नुको विकल्प छैन। भिन्नताका बाबजुद एकता गरेर आफ्नो ठाउँको विकास र समृद्धि अघि बढाउनुपर्छ,’ उनले भने।

कँडेलले मन शान्तिका लागि त्यसलाई प्रतिगमन भन्दा हुने बताए। तर, प्रतिगमन हुँदा अवस्था र संरचना बदलिएको हुने उनको भनाइ छ। यस्ता विषयमा भन्दा कर्णालीमा के गरियो भन्ने विषयको छलफल सही हुने उनको भनाइ थियो। ‘आगामी दिनमा हार्दिकता साथ दलीय सम्बन्ध सुदृढ गर्ने कुरा र कर्णालीका समस्यालाई एउटै अजेन्डामा राख्ने मान्यता आज पनि कायम छ,’ कँडेलले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्