सैघाली खबर
काठमाडौं ,१० माघ
अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन्। संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ। पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन्।
तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन्। मन्त्रीमा बहाल रहेका पूर्वसांसदले भने तत्काल पासपोर्ट फिर्ता गर्नुपर्दैन। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको दफा ७ को ३ मा रहेको यो व्यवस्थाले संसद्का पदाधिकारी सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक र संसदीय समिति सभापतिले प्रयोग गर्दै आएको सवारीसाधन तथा सोही ऐनमा सदस्यसमेतले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने उल्लेख छ।
सचिवालय आएर २८६ फिर्ता, विभागबाट २४
संघीय संसद् सचिवालय उच्च स्रोतका अनुसार सांसदहरूले सचिवालय पुगेर २८६ वटा रातो पासपोर्ट फिर्ता गरेका छन्। २४ सांसदले भने ३ माघसम्म राहदानी विभाग पुगेर रद्द गराई सचिवालयलाई जानकारी गराएका छन्। पासपोर्ट रद्द गर्न सांसदले बुझाएको दुईवटा पासपोर्ट भने अहिले संघीय संसद् सचिवालयमा प्रक्रियामा रहेको छ।
पूर्वसांसदले आफूले प्रयोग गरेको रातो पासपोर्ट रद्द गर्न संसद् सचिवालयमा बुझाउनुपर्नेछ। पूर्वसांसद आफैँले राहदानी विभागमा गएर रद्द गर्नसमेत सक्नेछन्। सचिवालयका अनुसार हाल सरकारमा रहेका मन्त्रीहरूले भने मन्त्री पदमा बहाल रहुन्जेल रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन्। बहालवाला मन्त्रीले रातो पासपोर्ट प्रयोग गरे–नगरेकोबारे सचिवालयलाई जानकारी नहुने एक कर्मचारीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।