आमामा समर्पित ‘आमा मेरी आमा’ रिलीज (भिडियो)



मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) आउन केहि दिन बाँकी रहँदा आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । यस भिडियोलाई नेपाली सेनाको जाँचपास अनुमति पछि सार्वजनिक गरिएको हो । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार राजेन्द्र थापा थिए भने नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष विपुल पोखरेल बिशिष्ट अतिथी थिए । साथै, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाली सेनाका महासेनानी सानुकाजी थापा, मेजर बिदुर बिक्रम अधिकारी क्षेत्री, बरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतको उपस्थिती रहेको थियो ।

बरिष्ठ गीतकार थापाले अब्बल गीतमाथी बनेको भिडियोले सुनौलो बनाएको बताए । उनले भने, ‘गीतको अडियो अब्बल छ । भिडियोले अझै बल पुर्‍याएको छ । अरु गीत हेर्दा-सुन्दा कति बेला सकिन्छ जस्तो लाग्थ्यो तर यो गीत हेर्दा सकिएको नै थाहा भएन’ ।

पत्रकार पोखरेलले यो गीत हेर्दा सबैले आफु र आफ्नी आमा देख्न सक्ने गीत र भिडियो बनेको बताए । उनले यो गीत आमा सम्बन्धी एक पृथक र उत्कृष्ट गीत रहेको जिकिर गरे । महासेनानी सानुकाजि थापाले शब्द, संगीत, स्वर र भिडियो मार्फत नेपाली सेना जोडिएको यो गीत आम दर्शकका लागि मात्र नभई नेपाली सेना कै गर्विलो गीत बन्न सफल रहेको बताए ।

अभिनेत्री भुवन चन्दले आफुले रोजेर भिडियोमा अभिनय गर्ने गरेको बताईन् । यो गीत अत्यन्तै मन परेको कारण अभिनय गरेको बताईन् । त्यस्तै कलाकार कमला दाहालले रेकर्डिङका बेला नै भक्कानो फुटाएको यो गीतमा आफुले अभिनय गर्न पाउँदा अत्यन्त खुशी लागेको बताईन् । कलाकार दाहाल अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)की ग्लोबल अध्यक्ष समेत हुन् ।

कार्यक्रममा अडियो तथा भिडियो निर्माणमा योगदान गर्नेलाई कदर पत्र प्रदान गरिएको थियो । सैनिक जन सम्पर्क तथा सुचना निर्देशनालय, इन्द्र बक्स गण सुर्यविनायक, मेजर विदुर बिक्रम अधिकारी क्षेत्री, अन्य ६ जना मेजर लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्