अन्तर्राष्ट्रिय

भारतको राजधानी नयाँदिल्लीमा आज रातिदेखि १ हप्ता लकडाउनको घोषणा

By Saru Sunar

April 19, 2021

६ वैशाख काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तीब्ररूपमा बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातिदेखि १ हप्ता कडा लकडाउन घोषणा गरेका छन् ।

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लकडाउनका क्रममा निजी संस्थालाई घरबाटै काम गर्न निर्देश गरिएको छ भने सरकारी कार्यालयमा आधा कर्मचारी मात्रै आउन पाउने भएका छन् । अत्यावश्यक सेवाहरू अस्पताल, रेल, एयरपोर्ट, बस स्टेसन लगायत क्षेत्रमा जानेलाई भने लकडाउनमा छुट मिल्ने जनाइएको छ ।

आइतबारमात्रै दिल्लीमा २५ हजार ४ सय ६२ संक्रमित थपिएका थिए। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो। कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।