एसईई र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने



काठमाडौं। बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ।

संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन शुरू गरिहाल्नुपर्ने बताए। कतिपय विद्यालयले मंगलवारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन्। सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ।

विद्यालयले आफ्नो विद्यार्थी संख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँच लगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्नेछन्। विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ। अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले दिए।

विद्यालयले भौतिक कक्षा सञ्चालन नगरे पनि पूर्व निर्धारित परीक्षा तालिकालाई निरन्तरता दिन सक्नेछन्। पूर्व निर्धारित तालिकालाई यसले कुनै असर नगर्ने र अब वैशाख महिनाभरका लागि भने नयाँ तालिका जारी गर्न नहुने जनाइएको छ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ। एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिए।

सरकारले मुख्य शहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन शुरू गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उनले जानकारी दिए। परीक्षा सञ्चालनका लागि आवश्यक तयारी समेत गरिएको उनले बताए। सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ। गत वर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो। १२ कक्षाको परीक्षा बोर्डले नै सञ्चालन गरेको थियो। गोरखापत्र दैनिकमा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्