माधव नेपाल मिल्दैनन्, उनले अर्कै पाटी खोलिसके : ओली



काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन्। एमाले पार्टी कार्यालयको शिलान्यासका लागि बल्खु पुगेका ओलीले पार्टीलाई क्षति नहोस् भनेर अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ-बुझाई प्रयास र सच्याउने प्रयासमा आफूहरू रहेको बताए।

‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरूले यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई बुझाइ गर्ने प्रयास गरिरहेका छौं,’ ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ। अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ। ’

उनले पार्टीमा अनुशासनहीनता र अराजकतासँग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताए। उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे। पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने उनको भनाई छ। ‘पार्टी विरोधी र गुटगत गतिविधिमा कुनै पनि हालतमा सम्झौता हुन सक्दैन। व्यक्तिगत तवरमा कुराकानी हुनसक्ने भए पनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन,’ ओलीले भने।

उनले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएकोले त्यस्तो क्रियाकलाप अहिले पनि जारी रहेको बताए। नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पनि पोखे। ‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतै पनि देखिएको छैन,’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्