दुर्घटना

धनुषामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु ,एक जना गम्भीर घाइते

By Saru Sunar

April 25, 2021

वैशाख १२, जनकपुर। धनुषामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार आज दिउँसो धनुषामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ।

मिथिला नगरपालिका–८ कुसुमविसौनामा प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीय युवक २० वर्षीय भोला महतो र स्थानीय २६ वर्षीय सुनिल शर्मा रहेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतो समेत गम्भीर घाइते भएका इप्रका ढल्केबरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ।

मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन्। दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्काको जानकी हेल्थकेयरमा पुर्‍याएपछि डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ।

दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।