काठमाडौं उपत्यकामा १५ गतेदेखि निषेधाज्ञाको तयारी, सार्वजनिक यातायात र आन्तरिक उडान बन्द गरिँदै



वैशाख १३, काठमाडौं । कोरोना संक्रमणको ग्राफ उकालो लागेसँगै जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो। संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिससमेत सीसीएमसी गरेको छ।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ। सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ।

यद्यपि, निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्