काठमाडौं उपत्यकामा वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा, यातायात बन्द गर्ने निर्णय



वैशाख १३ , काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्