सैघाली खबर
काठमाडौं , ११ माघ । सूचना, सञ्चार तथा प्रविधि मेलाको २४औं संस्करण बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । यही माघ १६ गतेसम्म हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।
क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।
सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई–दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको जानकारी दिए ।
उनले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।