नेप्सेमा १३.७९ अंकको गिरावट



काठमाडौं। शेयर बजार बुधवार शून्य दशमलव ५३ प्रतिशत घटेको छ। मंगलवार ३ दशमलव ६९ प्रतिशत बढेर ९२ दशमलव ४६ अंक बढेर २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा बन्द भएको बजार बुधवार २ हजार ५८५ दशमलव २८ विन्दुमा झरेको हो। यसदिन नेप्से परिसूचक १३ दशमल ७९ अंकले घटेको हो।

उता, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ४६ प्रतिशत घटेर ४६५ दशमलव ११ विन्दुमा झरेको छ। यो दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १६ अंकले घटेको हो।बिहीवारदेखि उपत्यकामा १५ दिनसम्म निशेधाज्ञा लागू हुने भएसँगै लगानीकर्ताहरु अन्योल बनेका छन्। बुधवारको कारोबार रकमलाई हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। यस दिन ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार बराबरको ८९ करोड ५३ लाख ४५१ कित्ता शेयर कारोबार भएको छ। यो कारोबार २१५ओटा कम्पनीको ४६ हजार ८०२ पटकको व्यापारमा भएको हो। यसदिन सर्वाधिक रकमको शेयर कारोबार एनसीसी बैंकको भएको छ।

एनसीसी बैंकको २८ करोड २८ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो। सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य पनि ३ दशमलव ६६ प्रतिशतले बढेको छ। प्रतिकित्ता १२ ले बढेर बुधवार कम्पनीको अन्तिम शेयरमूल्य ३४० कायम भएको हो। यसदिन २ हजार ६०६ दशमलव ५६ विन्दुदेखि खुलेको बजार २ हजार ५६५ दशमलव ८३ विन्दुसम्म झरेको थियो भने २ हजार ६२२ विन्दुसम्म पुगेको थियो। यो उतारचढावलाई देख्दा बिहीवारदेखिको निशेधाज्ञाका कारण लगानीकर्ताहरु आत्तिएको देखिन्छ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले निशेधाज्ञाका विच पनि बजार सञ्चालन हुने भएकाले कोभिडको जोखिमलाई ध्यान दिई अनलाइनमार्फत कारोबारमा सहभागी हुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ। बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएकाले पूर्ण अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गर्न सकिने भन्दै शेयर बजार पनि सञ्चालन हुने भएको छ। बजार सञ्चालन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सकेसम्म अनलाईन कारोबार र अनलाइन रकम भुक्तानीलाई प्राथमिकता दिई कारोबारमा सहभागी हुन लगानीकर्ताहरुलाई पनि आग्रह गरेको छ।

धितोपत्र कारोबार व्यवसायी ब्रोकरहरुलाई पनि अनलाईन कारोबार गर्न गराउँन नेप्सेले यसअघिनै निर्देशन दिईसकेको छ। गत वर्ष पनि लकडाउन अवधिभर बन्द भएको शेयर बजार पूर्ण अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गर्न सकिने व्यवस्था गर्दै कोभिडको प्रभावका विच सञ्चालन गरिएको थियो। गत वर्ष ९८ दिन बजार बन्द भई नियामक निकाय र बजार सञ्चालकले अनलाईन कारोबार प्रणाली अनिवार्य गरी बजार सञ्चालन गरेका थिए। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको लकडाउन हुनुपूर्व चैत १० गतेदेखिनै शेयर बजार बन्द भएको थियो।

लकडाउनका बीच वैशाख ३० र ३१ गते खुलाईएको बजार दुवै दिन नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बजार बन्द गरेको थियो। बुधवार व्यापारिक, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका समूहगत परिसूचक घटेका छन्। यसदिन व्यापारिक समूहको शून्य दशमलव २५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९८ प्रतिशत र अन्य समूहको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको हो।

यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ५८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७५ प्रतिशत घटेको छ। यसैगरी निर्जिवन बीमाको शून्य दशमलव ८१ प्रतिशत, लघवित्तको शून्य दशमलव ८९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ।

दोहोरो अंकले घटेको बजारमा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य भने ९ दशमलव ९९ प्रतिशत बढेको छ । यो दिन विशाल बजार कम्पनीको प्रतिकित्ता ४२१ ले बढेर अन्तिम मूल्य ४ हजार ६३६ र महिला लघुवित्तको प्रतिकित्ता २५८ ले बढेर अन्तिम मूल्य २ हजार ८४१ कायम भएको हो। यसदिन पोखरा फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव १५ प्रतिशत घटेको छ। उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १९ ले घटेर अन्तिम मूल्य २९० कायम भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्