एमालेले हाम्रा सांसद अपहरण गरेको हुनसक्छ : अध्यक्ष केसी



(४ नम्बर प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सो प्रदेशमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चाका सांसदले ओली पक्षका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएको छ । तर मतदानको पूर्वसन्ध्यामा आएर जनमोर्चाका सांसद खिमबिक्रम शाही भने विरामी भएर अस्पतालमा भर्ना भएका छन् । धेरैले उनी विरामी नभई अपहरणमा परेको आशंका गरिरहेका बेला उनकै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नयाँपत्रिका दैनिकलाई एमालेले आफ्नो पार्टीका सांसदलाई अपहरणगरेको हुनसक्ने भन्दै दिएको अन्तरवार्ताको सम्पादित अंश आवश्यक ठानेर प्रकाशन गरेका छौं)–सम्पादक ।

एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ, त्यो त भोलि थाहा होला । यसबारे हामीले पनि खोजिरहेका छौँ । के भएको हो भनेर जानकारी लिइरहेका छौँ ।

हिजो चेक गर्दा कोरोना नेगेटिभ देखिएको थियो, आज कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो र आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन । १२ बजेसम्म सम्पर्कमा रहेको र संसदमा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ ।

हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । यसले यसको गम्भीरता देखाउँछ । फेरि त्यो त एमालेकै अस्पताल पनि हो । उनी अस्पतालको आइसियूमा छन् भन्ने थाहा भएको हो । त्यसपछि लगत्तै उनलाई भेट्नका हामीले साथी पठाएको, तर प्रशासनले भेट्नै दिएको छैन । हाम्रै सांसद र पोखराका अन्य जिम्मेवार साथी पनि अस्पताल पुगेका हुन् । सांसद बिरामी भएको छ, पार्टीका मान्छेलाई भेट्न दिइएन, यो सबैलाई थाहा भइसकेको छ । अस्पतालमा मिडिया पनि पुगिसकेका छन् । मिडियाबाट पनि धेरै सत्यतथ्य बाहिर आउँदै छन् ।

कतिपयले सांसद शाहीले सत्तारुढ दलसँग म्याच फिक्सिङ गरेकोसमेत आरोप लगाएका छन् ती सम्भावनालाई पनि इन्कार गर्न सकिन्न, सम्भावना जे पनि हुन सक्छ । किनभने एमालेमा यस्तो खेती चलिरहन्छ । तर, उनलाई त भेट्न पाउनुपर्यो नि । हिजो कोरोना जचाउँदा नेगेटिभ आउने, आज त्यही बहानामा त्यहाँ लगेर राखेको छ । अपहरण गरेर राखेको हुनाले भेट्न नदिएको हो भन्ने हाम्रो बुझाइ छ । पार्टीले के गर्छ भन्ने भोलि थाहा हुन्छ । अहिले नै सबै कुरा भन्न भएन । व्यक्तिले गर्ने काम र पार्टीको नीतिले गर्ने काम एउटै हुँदैन ।

कुनै पार्टीका व्यक्तिले गर्ने कुकर्मलाई पार्टीको नीतिको अर्थमा बुझ्नुहुँदैन । सुनियोजित ढंगले कांग्रेस, एमालेले यस्ता खेती गरिरहन्छन् तर, राष्ट्रिय जनमोर्चाको कुनै व्यक्तिले गर्यो भने दोषी त व्यक्ति हो नि । संगठनको नीति दोषी हुन सक्दैन । म तीनपटक सदनमा बसेको छु । त्यसकारण राष्ट्रिय जनमोर्चाको नीति त्यस्तो छैन । व्यक्तिविशेषले त्यस्ता गतिविधि गर्न सक्छन् । यसबारेमा खोज–अनुसन्धान हुन्छ र नेपाली जनतालाई खास कुरा थाहा हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्