korona dedh

अपराध

धनुषामा आफ्नै श्रीमती र दुई जना भाइबाट एक युवाको हत्या

By Saru Sunar

May 01, 2021

वैशाख १८, काठमाडौँ । आफ्नै श्रीमती र दुई जना भाइबाट धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ । शनिबार बिहान राति २ बजे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्यामा संलग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न छन्।

उनीहरू सबै फरार भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। राति २ बजेतिर उनीहरूले घरायसी विवादमा शम्भुमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट शम्भुको घटनास्थलमै मृत्यु भएको थियो।

बिहान सवा ३ बजे जानकारी आएपछि प्रहरी पुग्दा शव भुइँमा फेला परेको थियो।‘हाम्रो टोली पुग्दा श्रीमती र दुई भाइ भागिसकेका थिए,’ मिश्रले भने। मृतकको शरीरमा दाउ, चक्कुको प्रहार देखिन्छ। उनीहरूबीच के वादविवाद थियो भन्ने खुलिनसकेको मिश्रले बताए। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनुषामा लगिएको छ। घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको मिश्रले बताए।