धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय



वैशाख १९, काठमाडौँ । कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्लामा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।

सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ । यसका साथै प्रदेश २ सरकारको निर्णयले आइशोलेशनको रुपमा प्रयोगमा आएको र बेडसहितको अन्‍य स्वास्थ्य सामग्री र पूर्वाधार तयारी रहेको भन्‍दै सपहीस्थित सिटीईभीटीइको भवन, जनकी मेडिकल कलेजको रमदैयास्थित अस्पताल र गंगुलीस्थित आयुर्वेद कजेल भवनलाई कोभिड अस्पतालको रुपमा सञ्‍चालन र व्‍यवस्थापन गर्न सामाजिक तथा विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४२० पुगेको छ । दैनिक १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्