असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द हुँदै



काठमाडौं। कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ। समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो।

बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो। त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए। तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए।

‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं। सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो। तर, यस विषयमा कुनै निर्णय गरिएको छैन।’
सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा कोरोना बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उनको भनाइ छ। ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ। यस अवस्थामा सरकारले सहयोग गर्ने नीति ल्याएमा कोरोना बीमालाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘किनकी कोरोनासम्बन्धी मुख्य दायित्व सरकारको नै हो ।’

साउनदेखि दाबी आवेदन पनि नलिइने उनले बताए। ‘अहिले पनि कोरोना बीमाको पोलिसी विक्री गर्न मिल्छ। तर, साउनदेखि भने कोरोना बीमा पोलिसीको खरीदविक्री बन्द गरिनेछ,’ उनले भने, ‘साथै, दाबी भुक्तानीका लागि आवेदन दिने म्याद पनि असार मसान्तमा अन्तिम हुनेछ ।’

असारभित्र नै कोरोना संक्रमण भएको पुष्टि भए पनि ग्राहकले बीमा भुक्तानीका लागि यही अवधिमा नै प्रक्रिया अगाडि बढाउनुपर्ने छ। असार मसान्तपछि दाबी भुक्तानीको आवेदन पनि नलिने पौडेलको भनाइ छ। ‘साउन १ गतेदेखि दाबी पनि लिने छैनौं। तर, असार मसान्तसम्म परेको दाबी आवेदनको हकमा भने आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिनेछ,’ पौडलले भने।

कोरोना बीमासम्बन्धी मापदण्डमा असारसम्म मात्रै कोरोना बीमा सञ्चालन गरिने व्यवस्था छ। ‘गतवर्षको भदौ २९ गतेदेखि यता बीमा गरेका ग्राहकले गत चैत मसान्तभित्र कोरोना भएको भए मात्रा दाबी पाउनेछन्। वैशाख यता पनि कोरोना बीमाको विक्री भएको छ,’ पौडेलले भने, ‘तर, वैशाख यता कोरोना बीमा गर्नेको बीमा अवधि असारमसान्तसम्म मात्र हुनेछ।’

नेपालमा कोरोनाको संक्रमण शुरू भएको हुदाँ बीमा समितिले गतवर्षको वैशाखदेखि कोभिड–१९ बीमालेख जारी गरेको थियो। तर, कोरोना बीमामा बीमा कम्पनीहरूले सोचे जस्तो नाफा कमाउन सकेनन्। हालसम्म कोरोना बीमामा करीब ९ अर्ब रुपैयाँ बराबरको दावी परेको छ। त्यसमा करिब ६ अर्ब बराबरको दाबी स्वीकृति भइसकेको छ। बाँकी भने स्वीकृतिको प्रक्रियामा रहेको छ।

यसमा बीमाक्षेत्रको दायित्व भने साढे ३ अर्ब रुपैयाँ मात्रा रहेको छ। बीमा समितिले रू. १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले रू. १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ गरेर त्यो बराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ। त्यसभन्दा बढी दाबी परेमा त्यो सरकारले नै बेहोर्ने छ।

कोरोना बीमा बीमा समिति, पुनर्बीमा कम्पनी र कम्पनीहरूले आफ्नो दायित्व बराबरको भुक्तानी गरिसकेका छन्। तर, सरकारले भने आफ्नो दायित्व बराबरको रकम अझै भुक्तानी गरेको छ। बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरू गरेको थियो। त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत् यो कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यसबाट हुने व्यवसाय र दायित्व नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत र बाँकी रहेको बीमा कम्पनीलाई बराबर मात्रामा बाँडफाँट गरिएको छ। यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ। यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ। आर्थिक अभियानबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्