ट्रयाक खुलेको तीन दशकपछि ग्राभेल हुदैछ सिधुवा–शुक्रबारे सडक



इन्द्र नेपाली,तेह्रथुम
तेह्रथुमको छथर गाउँपालिकालाई कोशी राजमार्गसँग जोड्ने सिधुवा–शुक्रबारे–ओख्रे सडक (१६ किमि) ट्रयाक खुलेको झण्डै तीन दशकपछि ग्राभेल हुने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ सालभित्र कालोपत्रे गरिसक्ने गरी ठेक्का लगाएको हो । प्रदेश र संघीय सरकारको बजेटबाट बहुवर्षीय योजनाअन्तर्गत ७४ करोडमा कालोपत्रेको ठेक्का लागेको र अहिले ग्राभेल गर्ने काम सुरु भएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले खुलापत्र डटकमलाई जानकारी दिए ।

‘सिधुवा–शुक्रबारे (९ किमि) खण्डको चौडाई १० मिटर सहितको कालोपत्रे सडक बन्छ, शुक्रबारेदेखि ओख्रेसम्म ७ मटिर चौडाईको सडक कालोपत्रे हुन्छ,’ प्रवक्ता नेपालीले खुलापत्रसँग भने, ‘समग्रमा हेर्दा अहिलेसम्म करिब ५० प्रतिशत काम पूरा भएको छ ।’
अहिले सडकमा नाली बनाउने, मेसिनरी वाल लगाउने, कज–वे निर्माण गर्ने लगायत काम भइरहेको उनले बताए । सिधुवा–शुक्रबारे खण्डमा सडकको चौडाई विस्तार गर्न अब करिब दुई किमि मात्रै बाँकी रहेको छ । चौडाई विस्तार गरी ड्रेन समेत निर्माण भइसकेका ठाउँमा ग्राभेल गर्ने काम भइरहेको छ ।

सडक निर्माण र ग्राभेल गर्ने कामको सोमबार गाउँपालिका अध्यक्ष सन्तोष तिगेला नेतृत्वको एक टोलीले स्थलगत अनुगमन र निर्देशन दिएको छ ।

अनुगमनका क्रममा अध्यक्ष तिगेलाले ड्रेन निर्माण भइसकेको ठाउँमा चालु आर्थिक वर्षभित्रै ग्राभेल गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ‘सडक निर्माणमा गुणस्तरमा कम्प्रमाइज हुदैन, अब वर्षायाम सुरु हुदैछ, त्योभन्दा पहिले नै वर्षायाममा पनि सवारी आवागमन नरोकिने गरी ग्राभेलको काम पूरा गर्न निर्माण कम्पनीसँग छलफल भएको छ,’ अध्यक्ष तिगेलाले भने ।

यो सडक भएर छथर गाउँपालिका क्षेत्रका विभिन्न गाउँसम्म दैनिक चार वटा बस सञ्चालन हुदै आएका छन् । ग्रामीण क्षेत्रको कृषि उपजलाई बजारसम्म पु¥याउन ट्रयाकमात्रै खोलेर छाडिएको सडक लामोसम्म नबन्दा गाउँका किसानले दुःख पाउदै आएका छन् । सडकको ग्राभेल सुरु भएपछि स्थानीय उत्साहित छन्।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्