सैघाली खबर,
अभिनेता सौगात मल्ल अभिनीत पछिल्ला फिल्म लगालग असफल भइरहेका छन् । ‘लुट’ फिल्मबाट हाकु कालेका रूपमा चर्चामा आएका सौगातलाई लुटअघि दासढुंगा फिल्ममा पनि मन पराइएको थियो । उनलाई लुटले नै ‘भर्सटाइल एक्टर’ का रूपमा चिनाएको हो ।
तर, पछिल्लो समय उनका फिल्म लगातार असफल भइरहेका छन् । लुटबाट चलेका सौगातलाई पछि कबड्डी कबडडीमा पनि दर्शकले मन पराए । तर, उनका हाइवे, छड्के, सुनभागा, फिटकिरी, श्री ५ अम्बरे, षडङ्ग, उत्सव, मुखौटा, लुकामारी, कथा, शब्द, लप्पनछप्पन, मेरो पैसा खोइ रु, लालपुर्जालगायत फिल्म फ्लप भए ।
‘स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म साइन गर्दिनँ’ भन्ने गरेका सौगातलाई झ्यानाकुटी र फाटेको जुत्ताबाट पनि पहिलाझैँ मन पराइएन । हरेक फिल्ममा उस्तै किसिमको भूमिका र अभिनय गर्नाले पछिल्लो समय सौगातको हात खाली हुँदै गएको छ । उनलाई निगम श्रेष्ठ निर्देशित लालपुर्जा फिल्मबाट निकै आशा थियो । तर, लालपुर्जा सौगात मुख्य भूमिका अभिनीत सबैभन्दा कमजोर व्यापार गरेको फिल्ममा परेको छ ।
पछिल्लो समय सौगात अभिनीत फिल्म लगातार प्रदर्शनमा आए । दसैँमा उनको मेरो पैसा खोइ रु रिलिज भएको थियो भने त्यसपछि झ्यानाकुटी, फाटेको जुत्ता र लालपुर्जा दर्शकमाझ आए । अब फागुन ११ मा उनी अभिनीत पन्चेबाजा प्रदर्शनमा आउँदै छ । फागुन पहिलो सातादेखि अशोक शर्माको नाम फाइनल नगरिएको फिल्ममा अभिनय गर्न लागेका सौगात आफ्नो खस्किँदो करिअरप्रति चिन्तित छन् ।nayapatrika

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।