सैघाली खबर
चितवन , १३ माघ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ ।
शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । हामीसँग एकताको कुनै बिकल्प छैन ।
तर, यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें । एउटा शक्तिले बाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ । एकता हुन नदिन निकै ठूला प्रयास भए । तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ, त्यसका लागि तपाईहरुजस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ ।’
‘कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन् । तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन् । म परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा बस्दिनँ । परिस्थितिको मागअनुसार अघि बढ्छु’, प्रचण्डले भन्नुभयो, ‘परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो । तर, म कहिल्यै पनि रणनीतिक लक्ष्यका विरुद्ध जाने गरेको छैन । आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ । तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन । विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ ।’
‘शिक्षा समाजवादको आधारशिला खडा गर्ने निकै महत्वपूर्ण खुड्किलो हो । हिजो हामीकहाँ राजा महाराजा थिए । तर, अहिले हामीले नै चुनेका जनप्रतिनिधि छन्’, प्रचण्डले भन्नुभयो, ‘अहिले पनि हामीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा, विकासको पक्षमा काम गरेनौं भने कसलाई दोष दिने रु अब अरुलाई दोष दिएर उम्कने ठाउँ छैन । तपाई हामी सबै आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्नैपर्छ । शिक्षा क्षेत्र पनि त्यसबाट मुक्त छैन, तपाईहरु पनि त्यसका विरुद्ध लड्नुस् ।’
‘अहिले हामी आमूल परिवर्तनको परिस्थितिमा छैनौं । शिक्षामा गुणात्मक सुधार नै अबको हाम्रो बिकल्प हो’, प्रचण्डले भन्नुभयो, ‘शिक्षामा नीजि क्षेत्रको भूमिकालाई क्रमशः घटाउने र सार्वजनिक क्षेत्रको भूमिकालाई क्रमशः बढाएर समाजवादको शैक्षिक आधार तयार पार्नुपर्छ । हामीले राजतन्त्र त फाल्यौं । तर, सामन्ती सोंच पुरै सकिएको छैन । राजनीति, कर्मचारी र राष्ट्रसेवकहरुमा छोटे राजाको सोंच रहेसम्म जनताले परिवर्तनको अनुभूति गर्दैनन्, त्यसलाई समाप्त पार्नु हाम्रै कर्तव्य हो ।’
‘हामीले सुशासन र समृद्धिका लागि गृहकार्य गर्न कार्यदल बनाएका छौं । भ्रष्टाचार मात्र रोक्न सक्यौं भने पनि देशमा सुशासनलाई स्थापित गर्न सकिन्छ । समाज र राष्ट्रमा नयाँ संस्कार र सभ्यता स्थापित गर्न सकिन्छ’, प्रचण्डले भन्नुभयो, ‘चरित्र र नैतिकताको निर्माण शिक्षाबाटै हुन्छ । हामीले कस्तो शिक्षा दियौं ? कस्तो संस्कार सिकायौं ? त्यतातिर पनि समीक्षा जरुरी छ ।’
सम्मेलनपूर्व भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले गरेका दुरगामी महत्वका विषयहरु आफूहरुलाई मान्य नहुने र नयाँ सरकारले त्यसलाई खारेज गर्ने स्पष्ट पार्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।