सैघाली खबर
काठमाडौँ, १४ माघ
प्रदेश प्रमुखको नियुक्ति र अन्तरिम प्रशासनिक संरचनाको टुंगो लागेसँगै प्रादेशिक सरकार गठन पूर्वको आवश्यक प्रशासनिक संरचनाको तयारी सुरु भएको छ । प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा त्यस्तो तयारी थालिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातवटै प्रदेशका प्रमुख सचिवलाई राजधानी बोलाएको छ ।
प्रदेश सरकार सञ्चालनका लागि भइरहेको तयारीको ताजा अवस्था बुझ्न र त्यसम्बन्धमा थप छलफल गर्न उनीहरूलाई केन्द्र डाकिएको हो । मन्त्रिपरिषद् कार्यालयले दुई महिनायताको गृहकार्यबाट तयार पारेको प्रदेश सरकार सञ्चालनसम्बन्धी नमुना कानुन, नियमावलीहरू प्रमुख सचिवलाई सोमबार हस्तान्तरण गर्ने कार्यक्रम राखेको छ ।
शुक्रबार सातवटै प्रदेशमा रहेका प्रमुख सचिवले सरकारका तर्फबाट औपचारिक पत्र हात पारेका छन् । त्यसैगरी प्रदेश सरकार र सभा सञ्चालन सम्बन्धमा प्रदेश मुख्य सचिवहरू र नेपालका सरकार मुख्य सचिव, संसद्का महासचिव र मन्त्रालयका सचिवहरूबीच छलफलसमेत हुने मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।