आजदेखि बेनीमा निषेधाज्ञा लागू



काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए ।

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन् ।

अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ घण्टा खुल्नेछन् । तरकारी, फलफूल, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्