स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने वातावरण बनाइदिन माग



वैशाख २४,काठमाडौँ । कोरोनाका कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित कर्म गर्ने सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताए ।

पौडेलले भने, “हिन्दू धर्मसंस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन् । उनले स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने पाउने वातावरण बनाइदिन प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताए ।

मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा कोरोनाको जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिए ।

उनले हिन्दू धर्ममा १६ संस्कार गर्ने चलन रहेकामा कोरोना भाइरसका कारण यस्ता कर्मबाट वञ्चित हुनुपरेको सुनाए । परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने तथा कोरोनाका कारण मृत्यु भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उनले जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्