उपत्यकाकै अस्पतालहरुमा अक्सिजनको अभाव



वैशाख, काठमडौं । अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुपर्‍यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।

अस्पतालमा अक्सिजन सकिएपछि भेन्टिलेटरमा उपचारत एक बिरामीको त्यही मृत्यु भयो भने अर्का एकलाई अर्को अस्पताल लैजाने क्रममा ज्यान गएको छ ।

यो घटनाले काठमाडौं उपत्यकामै कोरोना संक्रमितहरु कति जोखिममा छन् भन्ने देखाउँछ ।

ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालले त विज्ञप्ति नै जारी गरेर अक्सिजन आपूर्तिमा समस्या आएको बताएको छ । अक्सिजन उद्योगबाट सहज रुपमा अक्सिजन आपूर्ति हुन नसक्दा संक्रमितको उपचारमा समस्या आएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र पोखरेलले अनलाइनखबरलाई बताए ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट दैनिक ४६ सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको भएपनि दैनिक १५० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनले बताए । उनका अनुसार आईसीयूमा १७ जना, जनरल वार्डमा २९ र क्याबिनमा १५ जना गरी ६१ जना संक्रमितको उपचार भइरहेको छ ।

‘कोरोनाकाल अघि उद्योगले दैनिक १५/२० सिलिण्डर अक्सिजन आपूर्ति गर्दै आएको थियो । त्यही अनुपातमा अहिले पनि आपूर्ति गर्ने गरेको छ, जुन पर्याप्त छैन’ उनले भने ।

१०० जना संक्रमित राखेर उपचार गर्ने क्षमता अस्पतालको भएपनि अक्सिजन आपूर्तिमा समस्या भएकाले थप संक्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

अल्काको मात्रै होइन, अक्सिजन अभावले स्टार अस्पताललाई पनि त्यति नै पिरोलेको छ । आईसीयूमा १४ जना, भेन्टिलेटरमा ४ जनासहित ४७ जना संक्रमित उपचाररत छन् । सबै संक्रमितलाई अक्सिजन दिनुपरेका कारण दैनिक २०० सिलिण्डर खपत भइरहेको अस्पतालका सीईओ डा. सन्देश जीसीले बताए ।

अक्सिजन उद्योगले आपूर्तिमा तलमाथि गरे संक्रमितको उपचारमा ठूलो समस्या आउने अवस्था रहेको उनले बताए । ‘अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । सबै अक्सिजन उद्योगबाट आपूर्ति गर्नुपर्छ । हामीसँग खाली सिलिण्डर पनि छैन,’ डा. जीसीले अनलाइनखबरसँग भने, ‘कुनै कारणवश ‘आपूर्ति चेन’मा केही तलमाथि भए ठूलो समस्या आउन सक्छ ।’

सिलिण्डर अभावका कारण अक्सिजन आपूर्तिमा समस्या भएको जानकारी सम्बन्धित सबै निकायमा दिइएको उनले बताए । सरकारले उद्योग क्षेत्रमा जफत गरेका अक्सिजन सिलिण्डरहरु अस्पतालहरुलाई उपलब्ध गराइरहेको सुनेपनि अहिलेसम्म आफ्नो अस्पतालले एउटा पनि सिलिण्डर नपाएको उनी बताउँछन् ।

किस्ट अस्पतालको समस्या पनि उही छ । अस्पतालको आईसीयूमा ४० जना, भेन्टिलेटरमा १४ जना र कोभिड वार्डमा २१ जना कोरोना संक्रमित उपचाररत छन् । सबैलाई अक्सिजन दिनुपरेको छ । अक्सिजन अभावले संक्रमितको उपचारमा समस्या हुन थालेको अस्पतालका सीओओ अमिश पाठक बताउँछन् ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । ‘रोटेसनमा अक्सिजन आपूर्ति हुन नसके संक्रमितको उपचारमा ठूलो समस्या झेल्नुपर्ने खतरा आउन सक्छन्,’ सीओओ पाठकले अनलाइनखबरसँग भने, ‘अक्सिजन अभावमा एकजना मात्रै बिरामीले ज्यान गुमाउनु पर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने ?’

दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि रोटेसनमा १७० सिलिण्डर अक्सिजन तीन वटा कम्पनीबाट ल्याउने व्यवस्था मिलाइएको उनी बताउँछन् । ‘उद्योगले क्षमताअनुसार अक्सिजन उत्पादन गरेकै छ, तर पहिलेभन्दा चारगुणा माग बढेका कारण आपूर्तिमा समस्या आएको बताइरहेका छन्,’ उनले भने ।

अक्सिजन आपूर्तिमा समस्या भएका कारण नयाँ संक्रमितलाई भर्ना गर्न गाह्रो भएको उनले सुनाए । ‘२०० जना संक्रमित राखेर उपचार गराउने लक्ष्य अस्पतालको हो । तर अक्सिजनको सहज आपूर्ति छैन । अक्सिजन अभावमा कसैलाई केही भइहाल्यो भने त्यसको जिम्मा कसले लिने ?’ पाठकले भने ।

अक्सिजन सिलिण्डरका लागि सम्बन्धित निकायमा अनुरोध गरेपनि सुनुवाइ नभएको पाठकको गुनासो छ ।

ओम अस्पतालले भने अक्सिजनको प्रयोग बढेपनि अभावकै अवस्था भने आइनसकेको बताएको छ । अस्पतालमा उपचाररत संक्रमितलाई आवश्यक पर्ने अक्सिजन उद्योगले नियमित आपूर्ति गरिरहेका कारण समस्या नभएको अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले बताए ।

‘आफ्नै अक्सिजन प्लान्ट छैन । दैनिक २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ,’ उनले भने, ‘अक्सिजन उद्योगले आपूर्ति गरिरहेको अक्सिजनले अहिले धानिरहेको छ ।’

जेठो सरकारी अस्पताल वीरको आफ्नै अक्सिजन प्लान्ट छ । प्लान्टबाट दैनिक १५० सिलिण्डर उत्पादन हुने गरेको छ । त्यही अक्सिजनले संक्रमितको उपचार व्यवस्थापन गरिरहेको अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाले जानकारी दिइन् । उनले भनिन्, ‘संक्रमित थपिँदै गएमा समस्या आउनसक्छ । तर अहिले समस्या छैन । आफ्नै उत्पादनबाट धानिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्