टप फिचर

कपुरकोटको हेल्थ डेस्कमा ३१८ जनाको स्क्रिीनिङ

By Thaha - Online

May 07, 2021

सल्यान, २४ बैशाख ।

कर्णाली प्रदेश र लुम्बीनि प्रदेशको दक्षिण पूर्वी सिमानाका रुपमा रहेको सल्यानको कपुरकोटमा गएको बुधबार स्थापना गरिएको हेल्थ डेस्कमा ३१८ जनाको स्क्रिीनिङ गरिएको छ । भारत लगायत देशका विभिन्न स्थानबाट आएका ५५ जना महिला र २६३ जना पुरुष गरी जम्मा ३१८ जनाको कोरोना भाइरससंग मिल्ने लक्षणहरु छ वा छैन भनी परीक्षण (स्क्रिनिङ) गरिएको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस दोश्रो लहर बढेपछी गाउँपालिकाले नाकामा हेल्थ डेस्क स्थापना गरेको थियो । कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न तथा वाहिरबाट आउने व्यक्तिहरुमा श्वास–प्रश्वास, रुघाखोकी तथा ज्वरो लगायत समस्या देखिएमा त्यस्ता व्यक्तिलाई कोरोना परिक्षण गरि उपचार गर्न तथा गाउँमा संक्रमण फैलन नदिनका लागि हेल्थ डेस्क स्थापना गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

शुक्रबार मात्रै बेलुकी ५ः३० बजे सम्म हेल्थ डेस्कमा १२९ जना पुरुष र १७ जना महिला गरी १४६ जनाको स्क्रिनिङ गरिएको छ । जसमा १० जना भारतबाट आएका ब्यक्तिहरु थिए । शारदा नपाका ६ जना, बागचौर नपाका २ जना, कपुरकोट गापाका १ जना र रोल्पाका १ जना भारतबाट फर्किएका ब्यक्तिहरु थिए । यस नाका भएर फर्कने सबैको स्वास्थ्य अवस्था सामान्य देखिएको हेल्थ डेस्कमा खटिएकी अहेव विमला गिरीले बताइन् ।

बैशाखयता ३२ जना संक्रमित, १५१ जनाको रिपोर्ट आउँदै

कपुरकोटमा गत बैशाखयता गरिएको ७६ जनाको परिक्षणमा ३२ जना कोभिड १९ बाट संक्रमित भेटिएको र यस मध्ये १ जना निको भएर घर फर्किसकेको कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले बताएका छन् । २६ जना संक्रमित होम आइसोलेसन र ५ जना संक्रमित किमुचौर स्थित आइसोलेसनमा बसिरहेका छन् । र उनीहरु नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको तथा केही सामान्य लक्षणहरु वाहेक सबैको स्वास्थ्य अवस्था हाल सम्म सामान्य रहेको छ ।

यस्तै विहिबार कपुरकोट गाउँपालिकाबाट संकलन गरिएको १५१ जनाको स्वाबको नमुना पिसिआर विधिबाट परिक्षणका लागि पशुपन्छी रोग अन्वेशन प्रयोगशाला सुर्खेत पुर्याइएको पनि सेनले बताए ।

२०७७ को साउन ४ देखी २०७७ पुस ९ गते सम्म कपुरकोट गाउँपालिकामा जम्मा ७६४ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु सबै कोरोना मुक्त भएका थिए ।