खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न देउवाको माग



वैशाख २४ ,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेबरहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्न कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । साथै उनले पार्टीका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति देउवाले जारी गर्दै जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता,अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाए । जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं औषधिको भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगर्दा यो अवस्था आएको काँग्रेसको ठहर छ । कोरोना नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको देउवाको जिकिर छ ।

यस्तै देउवाले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरे । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू बेड र औषधिको नितान्त अभाव भएको देउवाको भनाइ छ । अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको देउवाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्