प्रदेश सरकारमा माओवादीलाई ३० प्रतिशत मन्त्री, ४ उपसभामुख



सैघाली खबर
काठमाण्डौ , १४ माघ । प्रदेश सरकारको प्रमुखका रुपमा ६०–४० को अनुपातमा भागबण्डा गरेका एमाले–माओवादी केन्द्रले प्रदेश सरकारमा मन्त्री चयनमा चाहिँ ७०–३० को भागबण्डा गर्ने भएका छन्। सिंहदरवारमा बसेको दुई पार्टीको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो।

 

यसअघि अनुमान गरिएजस्तै एमाले एमालेले प्रदेश–१, ३, ४ र ५ को मुख्यमन्त्री पाएको छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री पाएको छ। वामगठबन्धनले जित हासिल गर्ने ६ प्रदेशलाई सय प्रतिसत मान्दा यो बाँडफाँट ६०–४० को अनुपात हुन्छ।

प्रदेश सभा र प्रतिनिधि सभामा पनि एमाले–माओवादी केन्द्रले यही अनुपातमा सिट बाँडफाँट गरेका थिए। तर यो अनुपात राष्ट्रिय सभाको निर्वाचनमा कायम रहन सकेन। राष्ट्रिय सभामा उनीहरुबीच ६७–३३ प्रतिसतको अनुपातमा बाँडफाँट भयो।

प्रदेश सरकारको मुख्यमन्त्रीको बाँडफाँटमा ६०–४० को जस्तै भागबण्डा दुई पार्टीबीच प्रदेश सभाको सभामुखमा पनि भएको छ। जस अनुसार एमालेले प्रदेश–१, ३, ६ र ७ को सभामुख लिनेछ भने माओवादी केन्द्रले प्रदेश ४ र ५ को सभामुख लिने भएको छ।

प्रदेश उपसभामुखको भागबण्डा चाहिँ प्रदेश मुख्यमन्त्री र सभामुखको भन्दा ठीक उल्टो अनुपातमा गरेका छन्। अर्थात् माओवादी केन्द्रले ४ वटा र एमालेले २ वटामात्र पाएको छ। अर्थात् माओवादी केन्द्रको भागमा ६० प्रतिसत र एमालेको भागमा ४० प्रतिसत उपसभामुख परेको छ।

 

दुई पार्टीबी भएको सहमति पत्रमा मन्त्रीहरुको कार्यविभाजन र प्रदेश संसदीय नेतृत्वको बाँडफाँट सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुबै पार्टीका प्रदेश सभा दलका नेताहरुको सहमतिमा गरिने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्