Banner Second

अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात ५ लाख धरौटीमा छुटे

By Saru Sunar

May 08, 2021

काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई रिहा गर्न आदेश दिएको हो।

कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

सर्वोच्चको आदेशसँगै बस्न्यात थुनामुक्त भएका छन्।

कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएको र मुटु रोगीसमेत भएको हुँदा धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग गर्दै यही वैशाख १७ गते उनका ज्वाइँ प्रज्वल अधिकारीले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा बस्न्यातविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरेका अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध विसं २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।