पर्यटन

पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

By Saru Sunar

May 08, 2021

वैशाख २५, पोखरा । कोरोना महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोरोनाको असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताए । पर्यटन क्षेत्रबाट व्यवसायी पलायन हुने स्थिति आयो, असार मसान्त नजिकिँदै छ, बैंकले साँवा ब्याजका लागि पनि उस्तै अत्याउने समय छ, सरकारको मौद्रिक नीतिले सम्बोधन गर्न ढिला भइसक्यो अब व्यवसायी कसरी अगाडि बढ्न सक्छन् ? उनले भने । उनले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताए ।

पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।