माघ, १५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता निर्मल महरा एटमको बिशेष पहलमा देशको हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर स्थापना हुने भएको छ । अहिलेसम्म सञ्चार सुबिधा नपुगेको डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं ५ र ६ मा अब नेपाल टेलिकमको नमस्ते मोबाइलको फोन सञ्चालन हुनेछ ।
दुर्गम तथा हिमाली जिल्लाका बासिन्दाहरुलाई सञ्चारसँग जोड्नका लागि नेता महराले नेपाल टेलिकमका डाइरेक्टरलाई पटक–पटक भेट गरी टावर स्थापना गर्न दबाब दिएका थिए ।
नेता एटमको पहलपछि टेलिकमले मोबाइल टावर ठूलीभेरी नगरपालिका वडा नं ६ मा पर्ने रिनपुले डाँडामा राख्ने भएको छ । मोबाइल टावर स्थापना गर्ने स्थानको सर्वे गरेर निर्माण सामग्री जहाज चार्टर गरेर डोल्पा पुराइसकिएको छ ।
डोल्पाको अन्य विभिन्न स्थानहरुमा तीन चार वर्षदेखि मोवाइल टावर सञ्चालनमा रहेपनि उक्त दुई वडामा भने अहिलेसम्म पनि मोवाइल सेवा थिएन । मोबाइल सेवा सञ्चालन भएपछि आफन्तसँग फोन सम्पर्क गर्नकै लागि एक दिन हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता टरेको भन्दै स्थानीयवासीहरुले खुशी ब्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।