झलनाथ–माधवलाई गाली गरेर एमालेलाई पनि विभाजित गर्न खोजे



एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।

एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’
वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।

यस्तै नेता भुसालले सामाजिक सञ्जालमा समेत नेता भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताएका छन् ।
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालको भनाइ छ ।

उनले विगतमा प्रचण्डलाई गाली गरेर जबरजस्त पार्टी विभाजनतिर लगेको र अहिले पनि झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई पनि विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् ।
‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, उनले भनेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सीएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली सहमत नहुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ।

मंगलबार समेत भावी रणनीति बनाउन र पछिल्लो घटनाक्रमको समीक्षा गर्न नेपाल समूहको भर्चुअल बैठक बसेको थियो । सो बैठकमा ओलीलाई विस्वासको मत नदिएर उपयुक्त निर्णय भएको विष्लेषण गरिएको थियो ।
‘हामीले पछिल्लो राजनीतिक अवस्थाको सामान्य समिक्षा गर्यौ, त्यसमा ओलीलाई विस्वासको मत नदिने देखि अव हुने राजनीतिक समिकरण लगायतका विषयमा छलफल भयो’ थायी समिति सदस्य अष्टलक्ष्मीे शाक्यले भनिन्, ‘अहिले पनि नयाँ सरकार बन्न नदिन ओलीलाई भारतले अझै टेको दिन खोजेको हो कि भन्ने हाम्रो आशंका रह्यो ।’

त्यस्तै छलफलमा ओली पदमुक्त भैसकेको अवस्थामा कसरी जाने भनेर अन्य दलको भूमिका र आवश्यक्ता अनुसार निर्णय गर्ने नेताहरुले जोड दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्