माधव समूहका २० नेताको राजीनामा तयार, देउवालाई बहुमतको बाटो खुल्दै



सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।

‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’

गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।

बैशाख २७ गतेकै संसद बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेका थिए भने देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाएका थिए । तर, ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसदमा काँग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्षमात्रै बाट सम्भव नभएपछि खनाल नेपाल समूह उक्त निष्कर्षमा पुगेको हो ।

बुधबार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए ।

‘हामीले अन्तिमसम्म ओलीलाई २०७५ जेठ २ मा फर्कन समय दियौँ, तर, उहाँले मान्नुभएन । हामीले देशभर संगठन बनाएका छाैं । यस्तो अवस्थामा ती नेता–कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने ? त्यसै छाड्ने पनि कुरा भएन । त्यसका लागि कि अर्को पार्टी गठन गर्नुपर्यो, कि कम्युनिस्ट आन्दोलनलाई जोगाउन अर्को उपाय निकाल्नैपर्छ’, ती सदस्यले भने, ‘अन्तिम प्रयास गर्दा पनि नभएपछि हामीले विकल्प खोजेका हौं ।’

उनले खनाल–नेपाल समूहसँग दुई विकल्प मात्र भएको बताए । ‘अहिले हामीसँग दुई विकल्पभन्दा अरु भएनन्, त्यो भनेको एउटा लोकतन्त्र, राष्ट्रियता र यो आन्दोलन जोगाउन नयाँ पार्टी गठन गरेर जाने, अर्को ओली अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्री बनाएर जानुभन्दा लोकतान्त्रिक शक्ति जो छ, उसैलाई जसरी सहयोग गर्न सकिन्छ, त्यसरी नै सहयोग गर्नु हो’, उनले रातोपाटीसँग भने, ‘त्यसका लागि हामी गर्न सक्ने योगदान गर्न तयार छांै ।’

ओली अल्पमतमा परिसकेपछि अरु दलहरु मिलेर मुलुकको निकास दिनुपर्छ भन्नेमा आफ्नो पक्ष दृढ रहेको समेत ती सदस्यको भनाइ छ । उनी भन्छन्, ‘अब अरु दलहरु मिलेर मुलुकको निकास दिनुपर्छ । नयाँ सरकार बनाउनुपर्छ । यस्तो अवस्थामा हामी टुलुटुलु हेरेर र मुलुकलाई निकास विहीन बनाएर राख्न सक्दैनौं’, उनको भनाइ छ ।

यसका लागि सम्पूर्ण अधिकार नेता माधवकुमार नेपाललाई दिइएको उनको भनाइ छ । नेता नेपालले बहुमतको गठबन्धनको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामा गर्न तयार रहेको काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेका छन् ।

राजीनामा दिन तयार भएका सांसदहरुमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाललगायत छन् ।

माधव पक्षले सांसदहरुको राजीनामाअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्नका लागि काँग्रेस र माओवादी केन्द्रसमेत तयार भएको बुझिएको छ । माधव पक्षले मुलुकको निकासका लागि बाध्य भएर राजीनामा दिने कठोर कदम चाल्नुपर्ने अवस्था आएको पनि दाबी गरेको छ ।

उनी भन्छन्, ‘पदका लागि टाँसिने होइन, अब त्याग गर्ने बेला पनि भयो । हिजो बलिदान गरेकै हो । लोकतन्त्र ल्याएकै हो । यति परिवर्तन भइसकेपछि पनि लोभ गरेर बस्नु हुँदैन भन्नेमा हामी एकमत छौं ।’

राजीनामा दिनेबारे आफ्नो समूहभित्र विवाद नभएको पनि ती नेताले बताए ।

यसैबीच माधव–झलनाथ समूहका अर्का नेता घनश्याम भुसालले पनि बुधबार सामाजिक सञ्चालमार्फत केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्