पृथ्वीसुब्बा गुरुङ फेरि बने मुख्यमन्त्री



पोखरा। गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।

वैशाख २६ गते गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन्। ३ दिनको समयसिमा आज सकिएको छ। मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएपछि गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

गुरुङले बुधबारै सपथ लिने तयारी भएको छ। उनी अहिले प्रदेश प्रमुखको निवास पुगिसकेका छन्। आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै बैशाख २६ मा राजीनामा दिएपछि गुरुङ काम चलाउ सरकारका मुख्यमन्त्री थिए। मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन।

उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। चार दलले बहुमत दावीसहित प्रदेशप्रमुख समक्ष पत्र दर्ता गराएपछि राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु विपक्षी गठबन्धनमा नरहेको बताएपछि बहुमत पुग्न नसकेको भन्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सांसद रहेको एमाले संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन।

उनले आज शपथ लिएपछि १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेका हुन्। उनको पक्षमा २९ जनाले हस्ताक्षर गरेको बताइएको छ।

आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियो। तर थापा विहानै जन्मथलो बागलुङ गएका थिए। उनलाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएको भएपनि उनलाई कारवाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्