सैघाली खबर,
काठमाणडौ १६ माघ।
राष्ट्रिय सभा सदस्यको २४ माघमा हुने निर्वाचनमा उम्मेदवारी दिएका मध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार नेकपा ९एमाले०का नौ, नेपाली कांग्रेसका आठ, नेकपा माओवादी केन्द्रका तीन तथा संघीय समाजवादी फोरम र नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई, दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली छन् । त्यस्तै, कांग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनीता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट निर्विरोध भएका छन् ।
आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट विना पोखरेल, शशिकला दाहाल र हरिराम चौधरी निर्विरोध भएका छन् । त्यसैगरी, फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल निर्विरोध निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।