नेपालको जहाज र एयरपोर्टमा भारतीय कामदारको रजाईं

नेपाली कामदार हेरेको हेर्‍यै भारतीय कामदार उडाउन दूतावासको दबाब,


भारतीय कामदार उडाउन दूतावासको दबाब, नेपाली कामदार हेरेको हेर्‍यै

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना नागरिकलाई वैदेशिक रोजगारीको अवसरबाट बञ्चित गरेर विदेशी नागरिकहरुका लागि चार्टर्ड फ्लाइटको अनुमति दिएको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३० गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै नेपालस्थित भारतीय दूतावासबाट सिफारिश भई आए बमोजिम काठमाडौंबाट साउदी अरेबियाका विभिन्न गन्तव्यमा एकतर्फी यात्रु लैजाने गरी हप्ताको  सात उडान गर्न नेपाल वायु सेवा निगमलाई चार्टर्ड उडान अनुमति दिएको सार्वजनिक भएपछि संघले मन्त्रालयको उक्त अनुमति पक्षपातपूर्ण रहेको टिप्पणी गरेको छ ।

मन्त्रालयको एकैदिन दुई वटा अनुमतिपत्र सार्वजनिक भएकोमा एउटामा हप्तामा सात उडान र अर्कोमा तीन उडान अनुमति दिइएको उल्लेख छ । उक्त अनुमतिपछि हाल भारतीय कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम साउदी अरबका विभिन्न गन्तव्यहरुका गइरहेका छन् ।

भारतमा जोखिमपूर्ण मानिएको कोरोनाको दोश्रो लहरले मृत्यु हुनेको संख्या आकाशिएपछि खाडीका विभिन्न मुलुकले भारतबाट हुने उडान रोकेका थिए । त्यसपछि  साउदी अरब लगायतका देशमा वैदेशिक रोजगारीका लागि जाने भारतीय नागरिकहरु सुरक्षित मार्ग पहिल्याउँदै नेपालबाट उड्न थालेका थिए । त्यो धन्दामा केही वैदेशिक रोजगार व्यवसायीहरुको समेत भित्रि साँठगाँठ रहेको संघको आशंका छ ।

नेपालमा पनि संक्रमण बढेपछि सरकारले वैशाख १५ गतेदेखि निशेधाज्ञा लगाएको छ । सरकारले वैशाख १६ गते लागू भएको निषेधाज्ञा अघि नै नेपाल आएर विदेश जान नपाएका भारतीय नागरिकहरुलाई उद्धार गर्नका लागि साउदी अरेबियाका विभिन्न गन्तव्यमा चार्टर्ड उडानको अनुमति दिएको बताएको छ  । तर संघका महासचिव सुजित कुमार श्रेष्ठले हालैका दिनमा भारतबाट काठमाडौं आएका भारतीय नागरिकहरु साउदी अरब गएको दाबी गरे । साउदी अरबको भिसा लागेर बसेका हजारौं नेपाली श्रमिकहरुलाई  नेपालमै रोकिएको अवस्थामा भारतीय नागरिकहरुलाई सहजरुपमा जान दिने सरकारको निर्णय पक्षपातपूर्ण रहेको उनले बताए ।

नेपालले आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । तर अत्यावश्यक कामका लागि यात्रा गर्नेहरुका लागि नेपाल भारतबीच एयर बबल अनुसार सातामा दुई उडान चालु राख्ने नेपालको निर्णय छ । तर ती बबल उडानबाट अत्यावश्यक सेवाका लागि नभई रोजगारी गर्न साउदी अरब जाने भारतीय नागरिकहरु नेपाल आइरहेको व्यवसायीहरुको भनाइ छ ।

खाडीका विभिन्न मुलुुकमा कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि ती देशमा आर्थिक गतिविधि बढ्दा विदेशी कामदारहरुको माग बढ्न थालेको छ । तर श्रम स्वीकृति लिएका नेपाली कामदार रोजगारीमा जान नपाउँदा बेरोजगार नेपाली कामदारहरका लागि त्यहाँ सिर्जना भएको रोजगारीको अवसर ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ सरह भएको कतिपयको टिप्पणी छ ।
संघका महासचिव श्रेष्ठले भारतीयहरुलाई साउदी उडाउने धन्दामा केही वैदेशिक रोजगार व्यवसायीहरु, ट्राभल्स एजेन्सी र एयरलाइन्सले भारतीय दूतावासमार्फत नेपाल सरकारलाई दबाब दिएको बताए । महासचिव श्रेष्ठले तत्काल चार्टर्ड फ्लाइटमा भारतीय नागरिक उड्ने क्रम नरोके भविष्यमा नेपालबाट जाने सबै उडानलाई प्रतिबन्ध लगाउन सक्ने भएकाले नेपालमा अप्ठ्यारोमा परेका भारतीयहरुलाई साउदी अरब नभई भारत नै पठाउने व्यवस्था गर्नुपर्ने टिप्पणी गरे । उनले भारतीय नागरिक साउदी अरब जाने उद्देश्यसहित आएर जथाभावी हिँडडुल गरेका कारण काठमाडौंमा अस्वभाविकरुपमा कोरोना संक्रमण बढाएको  समेत टिप्पणी गरे ।

कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट नभई नेपाल आउन नपाउने भएपछि भारतमा दलालहरुले परीक्षण बिना नै कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भारतका होटल–होटल ल्याइदिने गरेको यसअघि नै भारतीय सञ्चारमाध्यममा समाचार आएका थिए ।

अन्तर्राष्ट्रिय उडानमा विमान कम्पनीहरुले ७२ घण्टाभित्र गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेका छन् । यसअघि राजधानीका सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट छानविनका क्रममा ६८ भारतीय नागरिकको रिपोर्ट नक्कली फेला परेको थियो । यस पटक उनीहरुले राजधानीको ह्याम्स अस्पतालमा कोरोनाको परीक्षण गराउने गरेको बताइएको छ ।

नेपालबाट भारतीय नागरिक चार्टर्ड फ्लाइटमा उड्दा नेपाली कामदारहरुलाई प्रत्यक्ष घाटा हुने व्यवसायीहरुको टिप्पणी छ । संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ पनि नेपाली जान नपाउने तर भारतीय नागरिक उड्ने अवस्थाले विदामा घर आएका नेपाली कामदार जान नपाउने भएकाले भारतीय नागरिकहरुलाई उड्न चार्टर्ड फ्लाइटको अनुमति दिन नहुने बताउँछन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले विगत एक वर्षदेखि नेपालमा नियमित अन्तर्राष्ट्रिय उडानहरु कम भएको, केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र  भारतीय कामदारहरु समेत नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेपछि चार्टर्ड विमानको भाडासमेत अपत्यारिलो ढंगले वृद्धि भएको बताए ।

उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने भारतीय नागरिकहरुको यात्रा नरोके नेपालबाट हुने चार्टर्ड फ्लाइटमा नेपाली कामदार जान सक्दैनन् । फ्रि भिसा फ्रि टिकटको प्रावधान नभएका कारण भारतीय कामदार जतिसुकै महँगो भएपनि टिकट लिएर जाने हुँदा विपन्न अवस्थाका नेपाली कामदारहरुलाई त्यसको चर्को मार पर्छ ।’

एसोसिएसनका अध्यक्ष ढकालले नेपालमा कति भारतीय नागरिक उद्धार गर्नुपर्ने अवस्थामा छन् तत्काल तथ्यांक सार्वजनिक गर्न माग गरे । भारतीय नागरिक स्थल र हवाई मार्गबाट दैनिकरूपमा आइरहेको भन्दै आज नेपाल आउने र भोलि चार्टर्ड फ्लाइटबाट उड्ने अहिलेको अवस्था नरोकिए नेपालीहरूलाई ठूलो क्षति हुने समेत उनले बताए ।

साउदी अरबले कोरोना भाइरसको संक्रमण कम भएपछि मे १७ अर्थात् आइतबारदेखि आफ्ना ७१ गन्तव्यहरुमा उडान शुरु गरेको छ । अन्य आर्थिक गतिविधि पनि बढेका छन् । महासचिव श्रेष्ठले व्यवसायीहरुले साउदी अरबमा देखिएको अवसर नेपाली कामदारहरुका पक्षमा पार्न मागपत्र प्रमाणीकरण गर्ने कार्य विगतमा जस्तो अलमल नगरी तत्काल शुरु गर्नु पर्ने बताए । महासचिव श्रेष्ठका अनुसार साउदी रोजगारदाताहरुले नेपाली कामदार लैजान चाहेका छन् ।

हाल साउदी अरबमा नेपालीका लागि ५० देखि ६० हजार डिमाण्ड रहेका छन् । श्रम स्वीकृति लिइसकेका र नयाँ कामदार लैजान मागपत्र प्रमाणीकरण र रोकिएको उडान यथाशक्य छिटो सुचारु गरिनु पर्ने पनि महासचिव श्रेष्ठले माग गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्